आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षको लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री दाहालले  शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने बताए ।

उनले आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने र आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए।

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गगर्दै हिमालमा प्रदुषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले पर्वतीय देशको नेताको रुपमा नेपाल स्थापित भइसकेको बताए। उनले हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उल्लेख गरे।

सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको उनले जानकारी दिए।