गत चैतमा मात्र साढे ३३ अर्ब रूपैयाँ रकमान्तर

काठमाडौँ - चालू आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पूँजीगततर्फ १ करोड भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो । यो अवधिमा अर्थ मन्त्रालयले २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थविविध शीर्षकबाट निकासा दिइएको छ ।

त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालू खर्चका लागि २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ । संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई ४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ६ करोडको बराबर निकासा दिइएको छ ।