क्यामरुनको एभिनियरमाथि फराकिलो जित निकाल्दै मनाङ् मस्‍याङ्दी फाइनलमा

धनगढी - तिलोत्तमा गोल्डकपको उपाधि जितेको मनाङ मस्‍याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ। 

बुधबार धनगढी रङ्गशालामा भएको सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर फुटबल क्लबमाथि फराकिलो जित निकाल्दै मनाङ् मस्‍याङ्दी क्लब फाइनलमा पुगेको हो। सात खेलाडीमामात्र सीमित विदेशी टोलीमाथि मनाङ्ले शून्यको विरुद्ध छ गोल गरेको हो। 

मनाङको रवाफिलो जितमा सुडिजो अजमोल जमालले ह्याट्रिक पूरा गरे। उनले खेलको ५९ औं, ६७ औं र ७७ औं मिनेटमा गोल गर्नुभयो। त्यस्तै, जीवन गुरुङले १२ औं, प्रसन्न श्रेष्ठले ५४ औं र अनिल गुरुङले ८१ औं मिनेटमा एक/एक गोल गरे। खेलमा जमाल प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत भए ।

एभेनियर दुई जना खेलाडीको अनुपस्थितिमा नौ जना खेलाडीसहित मैदानमा उत्रेको थियो। तर, गोल रक्षक विल्सन र खेलाडी जोर्डन जुनियरले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सो टोली सात खेलाडीमा सीमित भएको थियो। 

मनाङले अब आयोजक सुदूरपश्चिम-११ र थ्रीस्टारबीच हुने अर्को सेमिफाइनल खेलको विजेतासंग फाइनल खेल्ने छ। चैत १८ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले २१ लख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।