कांग्रेस पदाधिकारी बैठक बस्दै  

 काठमाण्डौँ - सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । फागुन २९ गते हुँदै गरेको राष्ट्रियसभा अध्यक्षको चुनाव, महासमिति बैठकपछिको परिस्थितिसहितका विषयमा छलफल गर्न देउवाले आफ्नै निवास बूढानीलकण्ठमा उपसभापति र महामन्त्रीद्वयलाई बोलाएको जानकारी कांग्रेस स्रोतले दियो । 

‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिक आइरहेको छ । यसमा हाम्रो र नेकपा माओवादी केन्द्र दुवै दलको दाबेदारी देखिएको छ,’ स्रोतले भन्यो, ‘माओवादीको दाबी देखिँदै गर्दा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको जानकारी पाएका छौं ।’