आजदेखि त्रिविका परीक्षासम्बन्धी अनलाइन सेवा सुरु, कसरी भर्ने आवेदन ? 

काठमाडौँ ।  आजदेखि  त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ। विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन भर्नसक्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो। विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको सुरुवात गरेका छन् ।

उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे। अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लागि घरैबाट अनलाइन निवेदन दिन सक्नेछन्।

सो का लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट (https://tuexam.edu.np/ ) लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने जानकारी दिइएको छ ।

चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन्।