नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा  बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । 

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।