नेपाल–भारत सीमा समस्या समाधानका राजनैतिक रुपमा सहमति हुनुपर्छ : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि राजनैतिक रुपमा सहमति हुनुपर्ने बताए । 

सोमबार भारतको ७५ औँ गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।

मन्त्री साउदले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भई अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको बताए। उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताए।

मन्त्री साउदले अहिले आर्थिक चुनौती भोगिरहनु परेको बताए। उनले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई विस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिबद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए।