एमाले अध्यक्ष ओली आज धनगढी जाँदै

 काठमाडौँ  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदैछन् । आज साँझ बुद्ध एयरमार्फत अध्यक्ष ओली धनगढी जान लागेका हुन् ।

एमालेले यही मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली जान लागेका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू जाँदै छन् ।

अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली लगायतका नेताहरू भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

अध्यक्ष ओलीले १४ गते बिहान बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने कार्यक्रम छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ  ।