आज पूर्व मन्त्री रायमाझीका तर्फबाट बहस, खाँणसहित १८ जनाको सकियो

काठमाडौँ - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट आज बहस हुँदैछ । गत मंगलवारबाट नक्कली भुटानी शरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइमा छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालतमा पाटनमा भएको बहस सोमबार सकिएको हो । उनको तर्फबाटको बहस आइतवारबाट सुरु भएको थियो । गत मंगलबारबाट हालसम्म १८ जनाको बहस सकिएको पाटन उच्च अदालतले जनाएको छ । आजबाट पाटन अदालतमा पूर्व मन्त्री रायमाझीको बहस सुरु हुँदैछ ।

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एशोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए । खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका हुन् । आइतवर वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए । त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका थिए ।

पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, महादेव यादव तथा सुरेन्द्र महतोले बहस गरेका थिए । उनीहरूले रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दाबी गरेका थिए ।

‘जाहेरीवालाले बालकृष्ण खाँणले यति पैसा लग्यो भनेका छैनन्। केशव दुलाल र टेकनारायणको संवादलाई लिएर खाँणलाई मुछिएको छ । खाँण आफू कहीँ पनि संलग्न नभएकाले जिल्ला अदालतले गरेको निर्णय कानुनसम्मत छैन,’ बहसको क्रममा खाँणका कानुन व्यवसायीले जिकिर गरेका थिए ।ा