सामाजिक सञ्जालबाट कुरा गरि क्यानडा लैजान्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट कुरा गरी क्यानडा लैजान्छु भन्दै  ठगी गरेको आरोपमा एक  व्यक्ति  पक्राउ परेका छन् ।

शुक्रबार झापको बिर्तामोड घर भइ हाल ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई ८४ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले इन्स्टाग्रामको प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई क्यानडा लैजाने भन्दै ८४ लाख १५ हजार ६२५ रुपैयाँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आर्चायले जानकारी दिए ।

भण्डारीलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीको भनाइ छ।