दोलखामा वृद्धा भत्ता लुट्न खुकुरी प्रहार गरि ७५ वर्षिय सुनुवारको हत्या

काठमाडौँ । दोलखामा वृद्धा भत्ता लुट्न एक युवाले ७५ वर्षिय वृद्धाको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका– ६  पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले जनाएको छ।

सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए ।

यही साउन ९ गते राति मृतक वृद्धाकै घरमा वास बसेका कार्कीले राति खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताए।

पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।  हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।