गौरीगञ्जबाट सुरु गरे कांग्रेस महामन्त्री थापाले दोस्रो चरणको संवाद यात्रा

काठमाडौँ ।  नवलपरासीको गौरीगञ्जबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दोस्रो चरणको संवाद यात्रा  सुरु गरेका छन् ।

आज बिहान स्थानीय चोकमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेर उनले संवाद यात्रा सुरु गरेका हुन् । 

 यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

दोस्रो चरणको संवाद यात्रा आजदेखि शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए । 
 
महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्या सुन्नेछन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।
 
सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्राअन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् ।