एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

काठमाडौँ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।

परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।