प्रधानमन्त्री दाहालद्वारा संवैधानिक परिषद्को बैठक आह्वान  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री  दाहालले यही चैत्र १८ गते आइतबार बिहान बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

 उनले यसअघि आज बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

उक्त छलफललगत्तै प्रधानमन्त्री दाहालले परिषद्को बैठक आह्वान गरेका हुन् । संवैधानिक परिषद्को बैठक यसअघि चैत १२ गतेका लागि तय भएको भए पनि उक्त बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री दाहालले बैठक आह्वान गरेका हुन् ।