कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

सिरहा - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

यहाँस्थित कमला पुलको आज स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिएका हुन्।

“निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ। बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हँुदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पुर्‍याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हँुदैन, छुट दिन सकिँदैन। यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ।”

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षणका लागि आएका हुन्। यस क्रममा उनले १२ वर्षसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुललाई गुणस्तरीय ढङ्गले र निर्धारित समयमै सम्पन्न गर्ने गरी प्राविधिक टोलीसहित कमला पुलको निरीक्षण गर्न आएको पनि जानकारी दिए।

उच्च स्तरको सरकारी अनुगमन तथा निरीक्षण भए पनि स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विस्वस्त छैनन्।

“मन्त्रीज्यू निरीक्षणमा आउनुभएको राम्रो हो तर औपचारिकताका लागि मात्र नहोस्”, सिरहा नगरपालिका–७ का कपिलदेव यादव भन्छन्, “पुल निर्माण सुरु भएको १२ वर्षसम्म कति मन्त्री आए, गए तर जनताको समस्या जहाँको त्यहीँ । अब त जनताको आश पनि मरिसक्यो।”

सञ्चालन नहुँदै २० महिनाअघि भासिएको हुलाकी सडकको मेरुदण्ड र मधेस प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन। २०६८ सालमा शिलान्यास भई निर्माण थालिएको पुल २०७८ साल असार १७ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पायर जमिनमा भासिएको थियो।

त्यसको चार महिनापछि कात्तिक ३ मा पुलको धनुषातर्फबाट तेस्रो पायर पनि भासियो। त्यसले सिरहा र धनुषालाई छोटो दूरीमा जोड्ने सपना तत्कालका लागि तुहियो। पुल पुनर्निर्माणका लागि हुलाकी सडक सङ्घर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम पनि भइरहेका छन्।