भट्टलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन

कैलाली - नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।

शुक्रबार संसदीय दलका १० मध्ये ६ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको थियो । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा मानबहादुर धामी, ओमविक्रम भाट सरल, शिवबहादुर ओली, लक्ष्मी विक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गीतादेवी मालको उपस्थिति थियो । सो बैठकमा भट्ट, मन्त्रीहरु रमेश धामी, झपटबहादुर साउद र जानकी पौडेल कुँवर अनुपस्थित थिए ।

सो निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो । शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय गरेके हो । साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ ।