विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाही गर्न ‘अल्टिमेटम’ दिइँदै

काठमाडौँ - कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।

आज बिहान बबरहलमा बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले आजै गृहमन्त्रीलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न तीन दिनको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन् ।

उनले आफूहरुको माग तीन दिनमा पूरा नभए देशव्यापी आन्दोलमा उत्रिने चेतावनी समेत दिए । ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ,’ उनले भने । गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो ।