जाडोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर

 सुदूरपश्चिम - निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् ।

घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् । “घाम लाग्दैन, धोएको लुगासमेत सुकाउन समस्या भयो”, धनगढीकी माया जोशीले भनिन् ।