एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, यस्ता छन् एजेण्डाहरु 

काठमाडौँ - सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ । ।


बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले बताएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।