निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन अधिकृतको नियुक्ति र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन लागि निर्वाचन कार्यतालिकाअनुरूप आयोगले सो तयारी गरिरहेको हो। आयोगका अनुसार आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति गर्ने र सोही दिन सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।

त्यसपछि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गराउने गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो।राष्ट्रियसभाको निर्वाचनको लागि सातवटै प्रदेशमा एकएक वटा मतदान स्थल र दुई(दुई वटा मतदान केन्द्र गरी सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक, प्राविधिक भवन, हेटौंडा र मकवानपुरमा मतदान केन्द्र राखिएको छ।

त्यसै गरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की र लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको आयोगले जनाएको छ।