'त्रिभुवन विश्वविद्यालयका समस्या छिटै समाधान हुन्छन्' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाए । 

आज त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले त्रिभुवन विश्वविद्यालयमा आवद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढ्नु आवश्यक रहेको बताए । उनले विद्यार्थीको रुची अनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह गरे । 

प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिए ।