एसईईको नतिजा आज बिहान सार्वजनिक गरिने

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए । 

त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले आज सार्वजनिक गर्न लागेको हो । 

गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए । 
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।