दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने प्रज्ञा-प्रतिष्ठानको निर्णय

काठमाण्डौँ - प्रज्ञा-प्रतिष्ठानको बैठकले फागुनदेखि लागू हुने गरी दोहोरो सुविधा नदिने निर्णय गरेको कुलपति भूपाल राईले बताएका छन्। प्रज्ञा-प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरूलाई प्रज्ञा-प्रतिष्ठानबाट दिइँदै आइएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ।’

नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन, २०६४ को दफा २८ को उपदफा ४ मा दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने व्यवस्था रहेको कुलपति राईले जनाएका छन्। त्यसकै आधारमा दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने निर्णय गरिएको उनको भनाइ छ।
प्रज्ञा-प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाल सरकारका विश्वविद्यलायहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरूलाई वि.सं. २०७९ फागुनदेखि यस प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरिएको छ।’

यससँगै प्रतिष्ठानले परिषद् सदस्यको कार्यविभाजन गरेको छ। कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास, उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) लाई बालसाहित्य, मधुसूदन गिरीलाई समालोचना तथा साहित्येतिहास, कृष्णराज अधिकारीलाई दर्शनशास्त्र, राजन मुकारुङलाई साहित्यतर्फ मात्रृभाषा, बाबा बस्नेतलाई साहित्यतर्फ पद्य र काव्य, कौसिला रिसाललाई सामाजिक शास्त्र, हंशावती कुर्मीलाई अनुवाद, अमर न्यौपानेलाई साहित्यतर्फ गद्य, त्रैलोक्यमान बनेपानी (अगिव)लाई भाषातर्फ मात्रृभाषा, कोष र व्याकरण तथा सदस्य सचिव धनप्रसाद सुवेदीलाई भाषातर्फ कोष र व्याकरणको जिम्मेवारी दिइएको छ।
https://www.himalkhabar.com/news/134617