पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीयसहित ४ पक्राउ

बारा - बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ । मृतक सिंह पूर्वप्रहरीसमेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत रहेका थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।