वरिष्ठ कलाकार सानु ताम्राकारको निधन

काठमाडौँ - वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । उनको उपचारका क्रममा शनिबार निधन भएको हो ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनले केही समयअघि मात्र छोरो गुमाएका थिए । उनका छोरा सारुक गत असारमा घरमा मृत फेला परेका थिए । त्यसपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका उनको किड्नीमा समस्या देखिएको थियो ।

कलाकार ताम्राकारको भोलि आइतबार मात्र अन्त्येष्टि गरिने बताइएको छ । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।
उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।