सप्तकोशीमा पानीको बहाव उच्च,  एक घण्टामै ३० हजार क्यूसेक बहाव बढ्यो

 काठमाडौँ - सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन गरिएको छ ।
पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो ।

पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । अहिले ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।

राति सवा १० बजे सप्तकोशीमा पानीको बहाव चार लाख १४ हजार ६० क्युसेक मापन भएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । पानीको बहाव अझै बढ्दो क्रममा रहेको छ । एक घण्टा अघि मात्र त्यहाँ ३ लाख ८५ हजार क्यूसेक पानी मापन गरिएको थियो ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । यसै वर्ष पनि साउन २९ गते बिहान चार लाख ६२ हजार क्युसेक मापन गरिएको थियो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।