रास्वपा प्युठानका संयोजक सुमनले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । सुवेदीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफू पार्टीबाट अलग भएको जानकारी दिएका हुन् ।

‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ । तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरू सबैसँग माफी माग्न चाहन्छु । समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो ।’

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको पनि उनले उल्लेख गरेका छन् । ‘फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी छ । सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन,’ उनले भनेका छन् ।