एआईआईबी टोलिसँग गभर्नरको भेटवार्ता, नेपालको वित्तीय क्षेत्रमा लगानी बढाउन आग्रह 

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन् । 
नेपाल भ्रमणमा रहेका एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक एआईआईबीको टोलीसँगको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरीवक्षणका लागि नेपालको वित्तीय क्षेत्रको अवस्था सन्तोषजनक रहेको उनको भनाई छ ।

उनले नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गरे । गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइन लगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

 भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्न सक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदर लगायतका विषयमा चासो राखेका थिए ।