भूकम्पमा भत्किएका ७ सय विद्यालय बनाउन बजेट व्यवस्थापन

 काठमाडौँ - अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनर्निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङमा गरी ७ सयभन्दा बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकमा ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।