संसदीय समिति वैठकमा मन्त्रीहरु नआएको भन्दै एमालेको आपत्ति, बैठक स्थगित

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व उपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरु बैठकमा सहभागी थिए । बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गरिन् । सभापति राजकिशोर यादवले उक्त विधेयकको दफाबार छलफलका लागि समितिका सचिव बबिता मिश्रलाई अनुमति दिए । सचिव मिश्रले विधेयकको पहिलो दफा पढेर सहमतिका लागि प्रस्तुत गरिन् । तालिका साथ सांसदहरुले पहिलो दफा पारित भएको जनाउ दिइन् ।

त्यत्तिकैमा नेकपा एमालेका सांसद रघुजी पन्त बैठक हल प्रवेश गरे । बैठक सुरु भइसकेपछि केही ढिलो गरी उपस्थित भएका नेता पन्तले पनि आफ्नो विधेयक उपरको संशोधनका बुँदा पढेर सुनाए । उनले आफ्नो कुरा राखिसकेपछि बैठकहलको चारैतिर नजर लगाए । विभागीयमन्त्री नदेखेपछि सांसद पन्तले पूर्वप्रधानमन्त्री र वरिष्ठ नेतालगायतको उपस्थिति हुँदा बैठकमा मन्त्री उपस्थिति नहुने अवस्थामा बैठक चल्न सक्दैन भने । उनले समितिको बैठकलाई बेवास्ता गर्न नमिल्ने जिकिर गरे । त्यसपछि सभापति यादव केहीबेर अकमकिए ।

राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा धेरै सांसद काठमाडौँबाहिर भएकाले बैठकमा छलफल गर्दै गर्ने भन्ने उद्देश्यले बैठक बोलाइएको सभापति यादवले उल्लेख गरे । आजको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो । जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो । तर, आजको बैठकमा मन्त्रीलाई नबोलाइएको समितिले जनाएको छ ।