चार दिने भ्रमणको लागि चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौँमा

काठमाडौँ । चार दिने नेपाल भ्रमणका लागि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल आइपुगेकी छन् ।

छिमेकी मुलुक भ्रमणमा निस्केको यो टोली मालदिभ्स भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको थियो। बंगलादेश भ्रमणका क्रममा हेयानले बिहीबार त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी थिइन्। बंगलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको पहिलो उच्चस्तरीय भ्रमण भएको हो।

 त्यसअघि उनले गत सोमबार माल्दिभ्समा त्यहाँका राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाट गरेकी थिइन्। त्यसक्रममा केही द्विपक्षी सम्झौता पनि भएको छ। ढाका भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रबार मध्यान्ह नेपाल अवतरण गरेको हो।

नेपाल भ्रमणमा रहँदा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग यही आइतबार होटल सोल्टीमा सामूहिक छलफल गर्ने तालिकासमेत रहेको छ।