दुर्गामूर्ति विसर्जनमा झडपको डर : मलङ्गवामा सुरक्षाकर्मी परिचालन, बाँकेमा कडा सुरक्षा

सर्लाही - सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यस वर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता घटेको थियो । विगत वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले दिएनन् । यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए । यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भई कफ्र्यु आदेश नै जारी गर्नुपरेको थियो ।