भारतसँगको सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत सुल्झाइने तयारीमा छौँ : प्रधानमन्त्री दाहाल    

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत सुल्भाइने बताएका छन् ।

केही दिनअघि गरेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यही प्रस्ताव आफूले गरेको उनले जनाए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, “चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले पारित गर्यौं । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुपर्‍यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुंगाउन आग्रह गरेको छु ।”

सीमा विवाद समाधानको पहल सकारात्मक ढंगले अघि बढ्ने विश्वास आफूले लिएको उनले बताए ।