बैंकहरुको आधार दर फेरि घट्यो, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो छ ? 

काठमाडौँ - वाणिज्य बैंकहरुको आधार दर निरन्तर घट्न थालेको छ । बैंकहरुको आधार दर महिनैपच्छिे घट्न थालेको हो । जेठ महिनामा पनि बैंकहरुको आधार दर शुन्य दशमलव २२ प्रतिशत बिन्दुले घटेको छ ।

हाल बैंकहरुको अधार दर ७ प्रतिशत बिन्दुसम्म आइपुगेको छ । जेठ महिनामा २० वटै बैंकहरुको आधार दर नै एकल अंकमा छ । हाल बैंकहरुको औसत आधार दर ८.५३ प्रतिशत कायम भएको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

जेठमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको देखिएको छ । हाल बैंकको आधार दर ७.०१ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट, नेपाल बैंकको आधार दर पनि ८ प्रतिशत भन्दा तल नै छ । यी बैंकहरुको आधार दर जेठमा क्रमशः ७.३५ प्रतिशत, ७४८ प्रतिशत र ७.८५ प्रतिशत छ ।