लुम्बिनीमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

काठमाण्डौँ - राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् भने अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।  

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी हुन् । अन्यतर्फ रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जिसीलाई पराजित गरेका हुन् । यसको मत परिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ । 

लुम्बिनी प्रदेशमा ३०५ जना मतदाता रहेकोमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको थियो । स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो । १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए ।