राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न आयोगको सुझाव

काठमाडौँ - निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहाले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले माघ १५ गते सम्म निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।