आजको मौसम : देशभर मौसम बदली, यी चार प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा  हावा हुरीको समेत सम्भावना रहेको छ । राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।