इन्डोप्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा दिल्ली जाँदै

काठमाडौँ - प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँदिल्ली जाँदैछन् । 
नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन् । 
सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डोप्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनेछन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।

नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य संगठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ ।