उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौँ - उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।
यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।