चुरियामाई दुर्घटना अपडेटः ७ जनाको मृत्यु, १७ जना घाइते 

 बारा - बाराको चुरियामाई मन्दिर नजिकै भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे चुरियामाई मन्दिर नजिक दुर्घटना भएको हो ।

बसमा २६ जना सवार मध्ये ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा ६ जना भारतीय रहेका छन् भने एकजना महोत्तरी लोहारपटी नगरपालिकाका रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंज बाराका अनुसार मृत्यु हुनेहरुमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीय श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ वर्षीय विजय लाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको मकवानपुरको हेटौंडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।