'फणिन्द्र देवकोटा नेसपाकै सांसद हुन्, माओवादीले कारबाही गर्न मिल्दैन'

काठमाडौँ - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्काश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । माओवादीको चुनाव चिन्हबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा का सांसद देवकोटालाई कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो ।

आबद्ध संसदीय दलको निर्देशनलाई उल्लंघन गरेको भन्दै माओवादीले गरेको कारबाही सिफारिसलाई जेठ ३२ गते प्रदेशसभामा सूचना सुनाएर पूर्णता दिइएको थियो । त्यसविरुद्ध नेसपाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।