'होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छ' : अध्यक्ष ओली

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताएका छन् । ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा शनिबार मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताएका हुन् ।

“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उनले भने, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस् । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताए । उनले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गरे ।