धादिङ बस दुर्घटना अपडेट : मृतक आठ जनामध्ये चार जनाको सनाखत

 काठमाण्डौँ - धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित छहरामा बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको हो ।

दुई महिला र छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक एक महिला र तीन पुरुषको  सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।