कागबेनीमा गत साता आएको बाढीबाट एक अर्ब बराबारको क्षति

काठमाडौँ - मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रससंगको समन्वयमा क्षतिको विवरण संकलन गरेको हो । विवरण अनुसार नगद, विभिन्न सामग्री र भौतिक संरचनामा ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सडक, पक्की पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी, तटबन्धन लगायत गरी २१ करोड बराबरको क्षति पुगेको विवरण संकलन गरिएको छ । बाढीबाट २२ वटा घर पूर्ण र ५ वटा घरमा आंशिक क्षति पुगेको छ भने ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति भएको छ । घर गोठको क्षति ५२ करोड ८९ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ । बाढीमा बगेर २४ वटा गाई र एउटा घोडा मरेका छन् ।