देशभर लगातार वर्षा : अझै ८ प्रतिशत भूभागमा रोपाईँ हुन बाँकी !

काठमाडौँ - देशभर लगातार वर्षा भैरहँदा समेत नेपालमा अझै ८ प्रतिशत भूभागमा रोपाइँ हुन बाँकी छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार भदौको पहिलो सातासम्म नेपालमा ९२ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

समयमै पर्याप्त वर्षा नहुँदा वर्षायाम सकिन लाग्दासमेत देशभरका अधिकांश प्रदेशमा धान रोपाइँ प्रभावित भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको भदौ १ गतेसम्मको तथ्यांकअनुसार देशभर ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जुन गत वर्षभन्दा तीन प्रतिशतले कम हो ।

कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ । मधेशमा कुल चार लाख एक हजार छ सय ५० हेक्टरमा रोपाइँ गर्नु पर्नेमा तीन लाख ३१ हजार एक सय ६५ हेक्टरमात्रै रोपाइँ भएको छ । देशभर हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा ९५ प्रतिशत रोपाइँ सकिएको थियो ।