छाउगोठमा किशोरी बलात्कृत घटनाबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ ।.राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका-२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन्। 

उनले आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको गुनासो गरे। 

उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि बताए।

‘आकस्मिक समय, शून्य समयलगायत जुन समयमा मान्य सदस्यहरुले विषय उठाउनु हुन्छ, ति विषयहरु सधैँजसो सम्बन्धित मन्त्री कहाँ पठाउने पनि गरेका छौँ‚ हरेक दिन पठाएका छौँ। यहाँ उठेका विषयहरुका बारेमा जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै हामीले दिइसकेका छौँ‚’ उनले भने, ‘यि सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ। आज उठेका विषयहरु जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’

आइतवारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटना उठाएका थिए।