शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा राख्न आज पुनः म्याद थपिदै

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ ।

मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्नको लागि मंगलबार अदालतबाट अनुमति लिइनेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन पूर्व उपप्रधानमन्त्रीदेखि, मन्त्री, सचिव, सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि संगठित रूपमा प्रक्रिया सुरु गरेको थियो ।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।