असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

 काठमाडौँ - मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन् ।

यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उनले बताइन् ।