नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूका कारण देश गम्भीर अवस्थामा पुग्यो : नेता नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूका कारण देश गम्भीर अवस्थामा पुगेका बताएका छन् ।

प्राज्ञिक विमर्श समूहले काठमाडौँको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा  नेता महरले व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको औल्याए ।

उनले भने, “कानुन र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो,” उनले भने, “व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ ।”

नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको उनको भनाइ छ ।  राजनीतिज्ञमा नैतिकता मुख्य विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए ।

“२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ । कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,” उनले भने ।