नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष र प्रधानमन्त्रीबीच भेट 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डड ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन् ।

आज शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग छलफल गर्दै उनले केन्द्रीय सरकारमा सहभागी भएर प्रदेश सरकारसम्मै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

‘नयाँ गठबन्धनप्रति तपाईँहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौँ। सरकारमा सामेल हुनुहोस् । अझै सहकार्य गरेर जाऔँ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

नाउपाले सरकारलाई विश्वासको मत दिएको थियो । नाउपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतले बताएको छ ।

नाउपा अध्यक्ष श्रेष्ठ सरकारमा सहभागी हुन सकारात्मक रहेको बालुवाटार स्रोतले बतायो ।